लमही–कोईलावास सडक मुआब्जा तिहार अगाडी वितरण गरिने

 

 
देउखुरी, २६ असोज ।
लमही–कोइलाबास सडक खण्डको मुआब्जाको विषय टुङ्गीएको छ । सडक विस्तार गर्दा सरकारले अधिग्रहण गर्ने जग्गाको मुआब्जा दिने विषय सात बर्षपछि टुंगीएको हो । 
 
सरकारी दररेटलाई आधार मान्दै त्यसको दोब्बर रकम मुआब्जाको रुपमा उपलब्ध गराउने निर्णय भएको छ । ‘मुआब्जा निर्धारण समितिको बैठकबाट लमही–कोइलाबास सडक क्षेत्रमा पर्ने जग्गाको मुआब्जाको टुङ्गो लागेको छ । 
 
प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक गजेन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सरकारी मुल्यलाई आधार मान्दै त्यसको दोब्बर मुआब्जा वितरण गर्ने निर्णय गरेको हो । बैठकमा जनप्रतिनिधि, मुआब्जा निर्धारण समितिका पदाधिकारीहरुको सहभागीता थियो । यसका साथै हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका प्रमुखको पनि उपस्थिति थियो ।
 
लमहीदेखि कोइलाबाससमम्म ३३ किलोमिटर सडक क्षेत्र विस्तार र कालोपत्रे गर्दा ७ सय ९९ कित्ता नम्बरको जग्गा सडक क्षेत्रमा पर्छ । सडक क्षेत्रभित्र पर्ने जग्गाको कित्ताकाट गरी मालपोत कार्यालयले सडक कार्यालयको नाममा जग्गा पास गरेपछि मुआब्जा वितरणको काम सुरु हुने प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
 
तिहारअघि सकभर मुआब्जा वितरणको काम गर्नेगरी तयारी भइरहेको हुलाकी सडक आयोजना कार्यालय नेपालगञ्जका प्रमुख सौरव बज्राचार्यले बताउनुभयो । मुआब्जाको लागी १५ देखी २० करोड रुपैयाँ जति आवश्यक पर्ने अनुमान गरिएको छ । सडक कालोपत्रे गर्न करिब ६४ करोड रुपैयाँ बजेट रहेको छ । सडक निर्माणका लागि कालिका कुमार श्रेष्ठ जेभीले प्रारम्भिक चरणको काम सुरु गरेको छ ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement