चुनावी सुरक्षाका लागि चुनौती बढ्दो

 

 
रोल्पा, २९ कार्तिक ।
पहिलो चरणमा चुनाव हुने रोल्पामा चुनावी सुरक्षामा चुनौती देखिएको छ । प्रचारमा हिँडेका उम्मेदवार वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट गराउनु र गोली प्रहार गर्नुले चुनावी असुरक्षा देखिएको हो ।
 
टेलीफोन सेवा र मोटर बाटो नपुग्ने गाउँमा रहेका मतदान केन्द्रहरुमा थप सुरक्षा चुनौती देखिएको छ । त्यस्ता मतदान केन्द्रमा सुरक्षा स्थिति कडा बनाउनुपर्नेमा सरोकारवालाहरुले माग गरेका छन् ।
 
चुनाव खारेजीका लागि विभिन्न गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले पक्राउ गरेको भन्दै नेकपाले कात्तिक २७ गते रोल्पा बन्द गरेको थियो । 
 
बन्दकै दिन नेकपाका जिल्ला सदस्य धनबहादुर खत्री ‘टाइगर’ लाई पनि प्रहरीले पक्राउ गरेको छ । आफ्ना जिल्ला नेताहरु धमाधम पक्राउ पर्न थालेपछि आक्रोशित नेकपाका कार्यकर्ताबाट थप घटना हुन सक्ने खतरा देखिएको छ । यसले मतदातामा आशंका र त्रास बढाएको छ । 
 
रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जिल्लाको सुरक्षा चुनौतीलाई ध्यान दिएर म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई चुनावमा परिचालन गर्न सुरक्षा योजना बनाइएको बताउनुभयो ।
 
स्थानीय तहको चुनावमा रोल्पा नगरपालिका १० भनभने मतदान केन्द्रमा मतपत्रमा एसिड छर्केर मतदान गर्नु, जिल्लाका त्रिवेणी, रुन्टीगढी लगायतका ठाउँमा युवाहरुबिच झडप हुने जस्ता घटना भएका थिए ।
 
» समाचार र गतिविधि
अभिलेखालय
Advertisement